शुक्रबार ०४ आषाढ २०७८

विराटनगर/नयाँ कोभिडको स्ट्रेन पत्ता लागेसँगै, मानिसमा पहिलाकै जस्तो डर र चिन्ताको स्थितिमा प्रवेश गरेका छन् ।

वैज्ञानिक तथा चिकित्सा पेशेवरहरू भाइरसमा आएको उत्परिवर्तनको स्रोत पहिचान गर्न र स्थापना गर्न प्रयास गरिरहेका छन् । यसअघिको भाइरसबाट सङ्क्रमण भएमा देखिने लक्षणको सुची बढ्दै गए पनि हालसम्म देखिएका सङ्क्रमितमा ज्वरो, लगातारको सुक्खा खोकी, गन्ध तथा स्वाद हराउनु, घाँटी दुख्ने, छातीको दुखाइ, सास फेर्न गाह्रो हुनु, पानी जस्तो सिँगान बग्ने वा नाक बन्द हुनु कोभिडका सामान्य र मुख्य लक्षण हुन् ।

अधिकांश सङ्क्रमितमा यीमध्ये कुनै एक लक्षण भएको रिपोर्ट गरिएको छ । सङ्क्रमण भएकमा धेरैजसो लक्षण पुरानो र नयाँ प्रकारको कोरोना भाइरसमा समान छन् । तर, उत्परिवर्तन भएको नयाँ भाइरस (भियुआई–२०२०१२/०१) फराकिलो र बढी गतिमा फैलिने क्षमता राख्छ । नयाँ म्युटेन्ट भेरियन्टबाट सङ्क्रमित भएका व्यक्तिमा केही फरक लक्षण देखापरेको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले कोभिडको नयाँ संस्करणका कारण देखिन सक्ने पाँच खतरनाक चेतावनी सङ्केत प्रकाशित गरेको छ । साथै, यी लक्षणलाई आपतकालीन सङ्केत सोची सक्दो चाँडो उपचार खोज्न आग्रह गरिएको छ । यी हुन् ती पाँच लक्षण :

– सास फेर्न समस्या भएमा
– भ्रम
– लगातार छातीमा दुखाइ महसुस भएमा
– थकित र बिउझिरहन असमर्थ भएमा
– ओठ वा अनुहार निलो हुँदै गएमा

लापरवाही गरेका कारण शरीरमा गम्भीर क्षति हुन सक्ने हुँदा निम्न लक्षण देखा परे तत्काल चिकित्सकको सहायता लिन आग्रह गरिएको छ । भाइरसको नयाँ प्रकार पुरानोको तुलनामा भिन्न भए पनि भाइरसलाई नियन्त्रण गर्ने तरिका पहिलेको जस्तो नै रहेको बताइन्छ । सङ्क्रमितको सम्पर्कका आएमा आफूलाई आइसोलेट गर्ने गर्नुपर्छ ।

साथै, मास्क लगाउने सामाजिक दुरी कायम गर्ने, हाच्छिउ गर्दा वा खोक्दा मुख छोप्ने, हात धुने तथा सरसफाइमा ध्यान दिनु नै भाइरसको फैलावटलाई रोक्ने प्रभावकारी उपाय हो ।

यी देशमा बेलायतमा फेला परेको नयाँ भाइरसको प्रकार भेटियो

विश्वका धेरै देशले कोरोना भाइरसको अत्यधिक सङ्क्रामक देखिएको नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् ।

यो भाइरसको त्यही प्रकार हो, जसको पहिचान सबैभन्दा पहिले बेलायतमा भएको थियो । बेलायतमा देखिएको एक नयाँ संस्करणको भाइरस पहिलो पटक १४ डिसेम्बरमा रिपोर्ट गरिएको थियो । डिसेम्बर २०२० मा पहिलो भेरियन्ट अन्वेषणपछि देखापरेको भियुआई–२०२०१२÷०१ भनेर चिनिने भाइरसको नयाँ प्रकार सेप्टेम्बरको मध्यमा पहिलो पटक देखा परेको थियो ।

केही विज्ञहरूले बि११७ लिङ्केज भनेर बोलाइने नयाँ प्रकारको भाइरस बेलायतको धेरै भागमा द्रुत रूपमा फैलिरहेको छ । उक्त भाइरसको संस्करण ७० प्रतिशत बढी सङ्क्रामक हुन सक्ने देखिएको छ । विश्वका विभिन्न देशले बेलायतको यात्राबाट फर्केका आफ्ना नागरिकमा कोरोना भाइरसको नयाँ भेरियन्टद्वारा संक्रमित भएको पुष्टि गरिरहेका छन् ।

अस्ट्रेलिया : २१ डिसेम्बरमा अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले बेलायतबाट यात्रा गरेका दुई व्यक्ति नयाँ प्रकारको भाइरसका साथ देशमा भित्रिएको जानकारी दिएका थिए ।

डेनमार्क : विश्व स्वास्थ्य सङ्गठनले रिपोर्ट गरेअनुसार डेनमार्कमा बेलायतको नयाँ प्रकारबाट नौ जना सङ्क्रमित रिपोर्ट गरिएको छ ।

क्यानडा : ओन्टारियोको क्यानाडाको प्रान्तमा स्वास्थ्य अधिकारीहरूले २६ डिसेम्बरमा पहिलो दुईजनामा बेलायतमा फेला परेको संस्करणबाट सङ्क्रमित भएको पत्ता लगाएका थिए ।

फ्रान्स : १९ डिसेम्बरमा ब्रिटिश राजधानीबाट फर्केका एक जना फ्रान्सेली नागरिकमा २५ डिसेम्बरमा नयाँ संस्करणको पहिलो सङ्क्रमण फेला परेको थियो । उनमा कुनै लक्षण देखिएको थिएन ।

इटाली : २० डिसेम्बरमा बेलायतबाट फर्केका एक युवामा उक्त नयाँ प्रकारको भाइरस रिपोर्ट गरिएको थियो । त्यस्तै, २३ डिसेम्बरमा इटालीले आन्कोनाको मध्य शहरको नजिक कोरोना भाइरसको नयाँ प्रकारको दोस्रो सङ्क्रमण रिपोर्ट गरेको थियो । तर उक्त सङ्क्रमित बेलायतसँग सीधा सम्पर्क राखेका थिएनन् । प्रयोगशाला निर्देशक स्टेफानो मेन्जोले बताएअनुसार दोस्रो सङ्क्रमणमा बेलायतमा पहिलो पटक पत्ता लागेको प्रकार जस्तो थिएन ।

जापान : २५ डिसेम्बरमा जापानले बेलायतबाट आएका यात्रुहरूमा पहिलो पाँच सङ्क्रमण रिपोर्ट गरेको थियो ।

जोर्डन : देशका स्वास्थ्यमन्त्रीले २७ डिसेम्बरमा जानकारी दिएअनुसार जोर्डनले बेलायतको केही भागमा छिटो फैलिएको कोरोना भाइरसको नयाँ संस्करणको पहिलो दुई सङ्क्रमण हालसालै बेलायतबाट आएका यात्रुहरूमा रिपोर्ट गरेको छ ।

लेबनान : लेबनानका कार्यवाहक स्वास्थ्य मन्त्रीले २५ डिसेम्बरमा लन्डनबाट आएको उडानमा नयाँ संस्करणको सङ्क्रमण भेटिएको बताएका छन् । २१ डिसेम्बरमा आइपुगेको मध्यपूर्व एयरलाइन्स उडान २०२मा रहेका सबै यात्रुहरू र उनीहरूका परिवारहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

नेदरल्यान्ड्स : २२ डिसेम्बरमा, डच स्वास्थ्य मन्त्री ह्युगो डी जोन्जेका अनुसार एम्स्टर्डमका दुईजनामा बेलायतमा देखापरेको नयाँ स्ट्रेनको भाइरसबाट सङ्क्रण भएको पाइएको थियो ।

सिङ्गापुर : २४ डिसेम्बरमा सिङ्गापुरले बेलायमा फेला परेको नयाँ कोरोना भाइरस भेरियन्टको पहिलो सङ्क्रमण पुष्टि गरेको थियो । १७ नोभेम्बर २ १७ डिसेम्बरबीचमा आइपुगेका ३१ सङ्क्रमितमध्ये एक जनामा बी११७ स्ट्रेनको सङ्क्रमण भएको पुष्टि भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्पेन : २६ डिसेम्बरमा स्पेनले नयाँ संस्करणको पहिलो चार सङ्क्रमण रिपोर्ट गरेको थियो । चारैवटा सङ्क्रमण बेलायतको यात्रामा सम्बन्धित रहेको क्षेत्रीय उपस्वास्थ्य प्रमुख अन्टोनियो जापाटेरोले बताएका थिए ।

स्वीडेन : स्विडेनी स्वास्थ्य एजेन्सीले २६ डिसेम्बरमा बेलायतबाट आएका एकजना यात्रीमा कोरोना भाइरसको नयाँ संस्करण रिपोर्ट गरेको छ ।

दक्षिण कोरिया : कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) का अनुसार दक्षिण कोरियाले कोरोना भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित तीन जना पुष्टि गरेको छ । २२ डिसेम्बरमा बेलायतबाट आएका तीन जना व्यक्तिमा नयाँ स्ट्रेन देखापरेको केडीसीएले जनाएको छ ।

 

२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया