बुधबार १३ आश्विन २०७८

विभिन्न बैंकबाट लिएको ऋण २५ लाख रूपैयाँ पुगिसकेको थियो। उमेरको उकालो लागेका नारायण राय यादवलाई त्यही ऋणले तर्साइरहन्थ्यो।

उनको खेतबाट उखु उठाएर लगेको चिनी मिलसँग पैसा उठाउन थियो। त्यो पैसा आएपछि ऋण तिरौंला भन्ने आश बोकेका थिए। तर पैसा कहिले उठ्छ, थाहै थिएन। १९ जनाको परिवार पाल्ने भर नै त्यही उखु।

सायद उनले उखु खेती गर्ने दुई-तीन बिघा जग्गाले समेत सोधिरहन्थ्यो, फसलको मूल्य खोजेको खै?

सर्लाहीस्थित उनको धनकौला गाउँमा केही समयअघि कुरा चल्यो- पोहोरजस्तै यसपालि पनि आन्दोलन गर्न काठमाडौं जानुपर्छ।

पोहोरको ठन्डीमा पनि तराईका विभिन्न जिल्लाका उखु किसान काठमाडौं, माइतीघर मण्डलमा धर्ना दिन आएका थिए। चिनी मिलले लामो समयदेखि उनीहरूको पैसा दिएका छैनन्। आन्दोलनपछि सरकार र चिनी मिलले किसानको पैसा चुक्ता गर्ने सहमति भएको थियो।

तर मिलहरूले सहमतिअनुसार किसानको पैसा दिएनन्। त्यसैले यसपालि पनि किसानहरू आन्दोलनमा आउने तयारी थाले।

उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्राका अनुसार ६५ वर्षीय नारायणले अन्नपूर्ण चिनी मिलबाट २० लाख रूपैयाँ बढी लिन बाँकी थियो। तर पोहोर आन्दोलनमा उनी आएका थिएनन्। उनका साथीहरूले पहल गरेकै थिए।

यसपालि चाहिँ नारायणले गाउँमा अर्को हल्ला पनि सुने- आन्दोलन गर्न नजाने किसानले पैसा पाउँदैनन्। त्यसपछि भने उनको मन पोल्न थाल्यो। उनले झोला कसे।

उनका छोरा सियाराम राय यादवले भने, ‘बुवाले यसपालि आन्दोलन गर्न म पनि काठमाडौं जान्छु। त्यति गरे त पैसा पनि पाइएला नि भनेर हिँड्नुभएको हो।’

नारायण काठमाडौं आएर जोरपाटीस्थित कृष्णमन्दिरको धर्मशालामा बसेका थिए। त्यहीँबाट दिनदिनै उनी माइतीघर आइपुग्थे। दिनभर आन्दोलनमा बस्थे। साथीहरूसँगै बसेर भन्थे, ‘किसान मार्न पाइँदैन।’

मंसिर ३० गते काठमाडौं आइपुगेका उनी पुस १३ गतेसम्म माइतीघरमा ब्यानर लिएर बसे। सोही दिन सरकार र किसानबीच सहमति भयो। किसानको पैसा २१ दिनभित्र तिर्ने सहमतिपछि पुस १४ गते, मंगलबार उनीहरू फर्किने तयारीमा थिए।

मंगलबार बिहान सबेरै सियारामले बुवालाई घर फर्किने तयारी के-कसो छ बुझ्न फोन गरे। तर पैसा पाउने र फर्किने समाचार नारायणले दिएनन्। उनले सियारामलाई भने, ‘छोरा मलाई त सास फेर्न साह्रै गाह्रो भएको छ। कोही मान्छे मेरो कोठामा पठाइदेऊ।’

‘बुवा पहिले त स्वस्थ नै हुनुहुन्थ्यो,’ सियारामले भने, ‘रोग भएको थाहा छैन। एक्कासि के भयो खै?’

बुवालाई बिसञ्चो भएको सुनेपछि सियारामले आन्दोलनमा सहभागी हुन आएका आफ्नो गाउँका अरू साथी र काठमाडौंमा रहेका भाइहरूलाई खबर गरे।

उनीहरूकै सहयोगमा नारायणलाई बिहान छ बजे चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पताल लगियो। आन्दोलनका संयोजक राकेश मिश्राका अनुसार उनलाई हेल्पिङ ह्यान्ड्सले हृदयघात भएको भन्दै गंगालाल रिफर गर्‍यो।

‘त्यहाँ ९ बजेतिर पुर्‍याइएको थियो। तर केहीबेरमै अस्पतालले मृत घोषणा गरिदियो,’ राकेशले भने। नारायणको बाँसवारीस्थित सहिद गंगालाल अस्पतालमा उपचारक्रममै निधन भयो।

बुवाको निधनको खबर पाएपछि सियाराम दौडादौड मंगलबारै काठमाडौं आइपुगे। मंगलबार साँझ कुरा गर्दा उनी बुवाको श’व लिएर एम्बुलेन्समा घर फर्किँदै थिए।

‘फसलको मूल्य लिन आउनुभएको थियो। सरकारले हाम्रो पैसा उठाइदिने जिम्मा लिएको भए ऋण लिन पर्थेन। बुवा ऋणकै पीरले जानुभयो,’ उनले दुखेसो गरे।

सोमबारको सम्झौताअनुसार पैसा आउँछ कि आउँदैन, सियारामलाई थाहा छैन। उनको परिवारमा अब ६० वर्षीया आमासहित १८ जना छन्। उनीहरू सबै मिलेर उखु खेती गर्छन्, आयको स्रोत यही हो। पैसा आए त सियारामको परिवारलाई केही सुविस्ता हुन्थ्यो।

‘हामीले ऋण गरीगरी खेती लगायौं। हाम्रो पसिनाको मूल्य भने उठाउन गाह्रो भयो,’ सियारामले भने, ‘आन्दोलनमा गएर पैसा लिएर घर आउँछु भन्नुभएको बुवाको शव लिएर जाँदैछु।’

आन्दोलनका संयोजक राकेशका अनुसार मिलले मंगलबारै केही रकम उनको खातामा हालिदिने सहमति भएको थियो। अस्तिसम्म ‘किसान मार्न पाइँदैन’ भन्ने ब्यानर बोकेर माइतीघरमा चिसो खाँदै उभिएका नारायणले आफ्नो पसिनाको पैसा पनि थाप्न नपाई संसार त्यागे।

राकेश भन्छन्, ‘यो सबै राज्यको लापरवाहीका कारण भएको हो। नारायण राय यादवको मृ’त्युको क्षतिपूर्ति राज्यले बेहोर्नुपर्छ।’

आज ओली समूहको भेला, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दैछ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सुदुरपश्चिम प्रदेशका कार्यकर्ताको भेला गर्न लागेको ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए।

दिउँसो १२ बजे बबरमहलस्थित कार्की बैँक्वेटमा सुरु हुने भेलामा राजधानीमा सुदूरपश्चिम प्रदेशका ओली समूहका नेता कार्यकर्ता सहभागी हुनेछन्। भेलालाई अध्यक्ष ओली लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दैछ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सुदुरपश्चिम प्रदेशका कार्यकर्ताको भेला गर्न लागेको ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए।

दिउँसो १२ बजे बबरमहलस्थित कार्की बैँक्वेटमा सुरु हुने भेलामा राजधानीमा सुदूरपश्चिम प्रदेशका ओली समूहका नेता कार्यकर्ता सहभागी हुनेछन्। भेलालाई अध्यक्ष ओली लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।

४१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया